फेसबुक प्रेमले निम्त्याएका समस्या

'नवीनले फेसबुकमा लेखेको प्रेम कविता, सँगै घुम्न जाँदा अँगालो मारेर खिचाएका फोटाका आधारमा मात्रै कसरी हाम्रो संस्थाले नाता कायम गर्नका लागि मुद्दा दर्ता गर्न सक्ला र?' निता जुन संस्थामा गइन्, तिनकी अध्यक्षको भनाइ यस्तो छ। तर निताको यो घटनाले धेरै कुरा सोच्न विवश गरायो। को मान्छे, कस्तो मान्छे भन्ने नचिनी फेसबुकबाट नै प्रेम गर्ने प्रवृत्ति बढेको छ। यो प्रवृत्तिले युवक, युवती, किशोर, किशोरीहरूलाई धेरै नकारात्मक असर परेको छ। प्रेम हुनु भनेको नै यौनसम्बन्ध हुनु हो भन्ने मानसिकताले अहिलेका युवा समाजलाई बेस्सरी गाँजेको छ। त्यसैले त अविवाहित किशोरीहरू गर्भपतन गराउन डाक्टरहरूको क्लिनिकमा जाने प्रवृत्ति पनि बढेको छ।
दस जोड दुई कक्षा पढ्ने किशोरीहरू पनि गर्भपतन गराउन आउने डाक्टरहरूको भनाइ छ। 'एकजना छात्रा त २ वर्षमा ३ चोटि गर्भपतन गराउन आइन्। तेस्रोचोटि आउँदा त अब तिम्रो गर्भपतन गर्न सक्दिनँ भनेर भनेँ। यस्ता किशोरीहरू देखेर मलाई दुःख लाग्छ। तर के गर्ने होला?' एक डाक्टरको भनाइ छ। अहिलेको बदलिँदो समाजमा माथि भनेका घटना र प्रवृत्ति समस्याकै रूपमा देखिन थालेको छ। यी ठूला सहरका मात्र समस्या होइनन्, सुदूरपश्चिमदेखि सुदूरपूर्वका जिल्लामा जाँदा विभिन्न ठाउँमा यस्तै घटना धेरै सुनिए। मोबाइल फोनका कारण इन्टरनेट सहज भएको छ, अनि त्यसैका कारण फेसबुक चलाउने किशोर, किशोरी धेरै छन्। यही फेसबुकले समाजमा चाहिंँ नजानिँदो हिसाबले समस्या ल्याइरहेको छ। अहिले त कतिपय सुदूरपश्चिमका जिल्लाका घरमा शौचालय नभए पनि मोबाइल फोन त प्रायः हुन्छ नै। अहिलेको समाजमा प्रविधिलाई रोक्ने होइन कि प्रविधिको उपयोग गर्ने ज्ञान किशोर, किशोरीहरूलाई दिन आवश्यक छ। घरमा र स्कुलमा राम्ररी मार्गनिर्देश नहुँदा किशोर, किशोरीहरू यसरी नक्कली प्रेम र सम्बन्धको धरापमा पर्छन्। यस्ता सम्बन्धहरू टुटेपछि कतिजना त मानसिक रूपमा नै डिप्रेसनमा पर्छन्। प्रेम सम्बन्ध टुटेकै कारण कतिपयले आत्महत्या समेत गरेको तथ्य पनि छ।
समाजमा आइरहेको परिवर्तनलाई आत्मसात् गर्दै स्कुलमा किशोर, किशोरी र युवालाई परामर्श दिने व्यवस्था गर्न आवश्यक छ। एक वर्षअघि सुदूरपश्चिममा प्रजनन स्वास्थ्यबारेमा स्कुलमा
छलफल गर्दा एक किशोरीले भनिन्, 'हाम्रो शरीरमा हाम्रो अधिकार हुन्छ भनेर भन्ने अनि किशोरी अवस्थामा यौनसम्बन्ध राख्न हुन्न भन्ने? के यो हाम्रो अधिकारको विषय होइन र?' ती किशोरीको कुरा सुनेर म छक्क परेँ र भनेँ, 'अधिकार सँगसँगै दायित्व पनि आउँछ। अधिकारका बारेमा छलफल गर्दा आफूलाई हानि हुने गरेर अधिकारको प्रयोग गर्नु भएन। किशोर अवस्थामा नै यौनसम्बन्ध राखेपछि हुने समस्या र असुरक्षित गर्भपतनले धेरै समस्या आउँछ।
फेरि जोसँग प्रेम गरेर यौनसम्बन्ध भयो, त्यो पछिसम्म रहिरहन्छ भन्न सकिन्न। अपरिपक्व अवस्थामा भएको आकर्षणलाई प्रेम भन्न सकिन्न।' मैले भनेका कुराहरूले ती किशोरीको चित्त त कति बुझ्यो वा बुझेन भन्न गाह्रो छ, तर ती किशोरीको प्रश्नले मलाई भने सोच्न बाध्य गरायो। सायद अधिकारका बारेमा छलफल गरिरहँदा हामीले कर्तव्यबोध गराउन बिर्स्यौं कि?
पहिलेकै अवस्थामा यो समाज फर्कियोस् भनेर हामी चाहना राख्न सक्दैनौं। तर किशोर, किशोरीलाई सम्बन्धको महत्त्वसँगै केके दायित्व आउँछन् भनेर त बुझाउनुपर्छ। किशोरीहरूलाई गर्भपतन गराउनु कानुनी रूपमा मान्य भए पनि गर्भपतन जथाभावी गराउनुचाहिंँ शारीरिक रूपले हानि हुन्छ भनेर बुझाउनैपर्छ। उनीहरूलाई 'इमर्जेन्सी पिल'को जथाभावी प्रयोगले हानि गर्छ भनेर बुझाउनैपर्छ। अहिले नै फेसबुक प्रेम, यौनआकर्षण, प्रजनन स्वास्थ्यका बारेमा छलफल गरिएन भने थुप्रै किशोरीहरू डाक्टरकहाँ गर्भपतन गराउन आइनै रहनेछन्। अब त आमाबुबाले छोराछोरीलाई घरबाट नै यसको बारेमा थाहा दिनुपर्ने बेला आएको छ। स्कुल र कलेजमा शिक्षक, शिक्षिकाहरूले पनि परामर्श दिने बेला आएको छ।
source- ekantipur.com
No comments:
Post a Comment