हालै केही पत्रकार मित्रहरुका फेसबुक वालमा देखिएका पीडामिश्रित पोष्ट हुन
यी। यस्ता फेसबुके पोष्ट आजभोलि आम पत्रकारका साझा बन्दै गएका छन्।
मनोज अधिकारी \
यस्ताखाले निराशाजनक अभिव्यक्तिमा अन्य पत्रकारका समर्थनयुक्त लाइक र
कमेन्ट पनि त्यतिकै जोडिएर आएका छन्। यो पेशामा भर्खरै दुई–तीन वर्ष नाघेका
र कोही १२/१५ यता सक्रिय पत्रकारितामा रहेकाहरुमा यस्तो निराशा धेरै
देखिएको छ।
'सबै पत्रकारको मनको कुरो' एक पत्रकारको पोष्टमा अर्काे मित्रको कमेन्ट हो
यो। सरसर्ती हेर्दा यो कमेन्ट सामान्य लागे पनि एक प्रतिनिधिमूलक देखिन्छ।
यी फेसबुके पोष्टमा अरु पत्रकारका कमेन्ट पनि यही आसयका छन्। अझ कसैले त
पत्रकारिताभन्दा आलु खेती बेस भन्नेसम्मको कमेन्ट गरेका छन्।
अन्यथा अर्थ नलागोस्, आलु खेती नराम्रो पेशा हुँदै होइन। बरु यो आम
नेपालीको खाद्य भण्डारमा तरकारीका रुपमा ठूलो हिस्सा ओगट्ने र आर्थिक रुपमा
एक बलियो व्यवसाय हो।
मुलधारका राष्ट्रिय दैनिक तथा टेलिभिजनमा कार्यरत पत्रकारका यस्ता फेसबुके
पोष्टले भन्न खोजेका धेरै कुरा छन्। उनीहरु यो पेशाप्रति किन यति धेरै
निराश र अवाक्क देखिन्छन्? यसको खोजी सायदै कसैले गरेको होला।
सतही रुपमा हेर्दा पत्रकारितामा अहिलेको पुस्ता उर्जाशील नभई निराश हुँदै
गएको माथिका अभिव्यक्तिले संकेत गर्छन्। राज्यको चौंथो अंग भनिने
पत्रकारितामा यो हदको निराशाका कारण के हुन सक्लान्?
एक पत्रकार मित्रले कमेन्टका रुपमा प्रष्ट लेखिदिएका छन्,'पत्रकारितामा सामाजिक छबि ठूलो छ, भित्री पीडा आफैंलाई मात्र थाहा हुन्छ।'
उनीहरुका यस्ता फेसबुके पोष्ट र कमेन्टले पत्रकारिताको पछिल्लो पुस्ता कुन
रुपमा गुज्रिरहेको छ भन्ने अनुमान गर्न सकिन्छ। जब कि नेपालमा
पत्रकारिताको चरम छलाङ यही अवधिमा भएको मान्निछ।
राजधानी र मोफसलमा गरी सयौं रेडियो तथा पत्रपत्रिका र दर्जनौं टेलिभिजन
च्यानल यसै अवधिमा खुलेका हुन्। अझ पछिल्लो समय अनलाईन पत्रकारितातर्फ
बेग्लै लहर छ। तर पत्रकार भने हौसिनुको सट्टा झन् विरक्तिएको सन्देश
सार्वजनिक गर्दैछन्।
सर्वस्वीकार्य तथ्य के हो भने, उदार सञ्चार नीतिका कारण पछिल्ला दुई दशकमा
सञ्चार संस्थाको संख्यामा बाढी आए पनि गुणात्मक बृद्धि हुन सकेन। बाढीले
जेसुकै बगाएर ल्याउँछ भनेझैं जो पनि सजिलै सञ्चार संस्थाका मालिक र पत्रकार
बन्न थाले। यसले पत्रकारितामा गुणात्मक विकास नभई सट्टामा अनेकथरी विकृति
चाहिं भित्रिए।
सानो अर्थतन्त्र भएको मुलुकमा च्याउसरी खुलेका सञ्चार संस्था सिमित
साधन–स्रोतमा दिगो र टिकाउ हुन सकेनन्। पत्रकारका रुपमा लगानीकर्तादेखि
श्रमिकसम्म जोकोहीको अपेक्षा ठूलो हुन पुग्यो। बदलामा यसले त्यो अपेक्षा
पुरा गर्न सकेन।
'पत्रकारलाई जागिर र तलब दुवै दिन सकिंदैन, जागिर खाने भए बस, तलब चाहिने
भए अन्तै जाउ' भन्ने सम्मका मालिक देखिए। तलब माग्ने पत्रकार टेलिभिजन
सञ्चालकबाटै निकालिन थाले।
ठूला मिडिया भनिएकाले नै महिनौं तलब निकासा ढिलाई गरिरहे। साविकको दशैं
पेस्की बन्द भए। टेलिभिजनमा अनुहार देखाउनेहरु वर्षौं तलब नपाएपछि
रत्नपार्कमा घाम ताप्दै गरेका भेटिए।
सरकारी कर्मचारीले बेलैमा निकासा पाएनन्, फलानो नीजी कम्पनीमा मागअनुसार
तलब बृद्धि भएन, तिलानो संस्थामा अनियमितता भयो भन्ने समाचार लेख्ने
पत्रकार आफू स्वयंम् उही अवस्थामा गुज्रिरहेको छ।
महिनौं तलब नपाए पनि ऊ आफ्नो कर्म गर्न भने छोड्दैन। बरु डेरा भाडा तिर्न
नसकेर घरपट्टीको आँखा छल्न साथीको डेरामा शरण लिन पुग्छ। एक सिलिण्डर
ग्याँस किन्न नसकेर ऊ रिपोटर्स् क्लबको कुकिज वा अन्य आयोजकको
चिया–नास्तामा दिन काट्न सक्छ। तर आफ्नो अवस्था त्यही पत्रिकामा लेख्न
सक्दैन।
हालै ग्याँसको हाहाकार हुँदा केही पत्रकारले लेखे,'एक सिलिण्डर ग्याँस पनि
कसैले पत्याएनन्। न घरकी जहानले चुल्हो बाल्न पाइन न छिमेकीले पत्रकार
भनेर धाक लगाउन पाए। हिस्स..पत्रकारको फुुुुुुुुुुुुुुुुुुुुुुुर्ती..।'
पत्रकारले जे पनि थाहा पाउँछ, लेख्छ, बोल्छ र गर्न सक्छ भन्ने एकथरी
मान्यता समाजमा अझै छ। वास्तविकतामा उनीहरु कुन हदको दैनिकी गुजारिरहेका
हुन्छन् भन्ने कमैलाई थाहा हुन्छ। आखिर पत्रकार पनि समाजकै एक सदस्य हो।
आफ्नै रोजीरोटीको दरिलो व्यवस्था गर्न नसक्ने अवस्थाको पत्रकारले समाजको
आमअपेक्षा कसरी पूरा गर्न सकोस्। यद्यपी समाजमा पत्रकारलाई हेर्ने फरक–फरक
दृष्टि छन्।
त्यसैले उनीहरु देख्नासाथ पत्रकारलाई सोध्छन,'आज घाम लाग्छ कि पानी पर्छ?'
कतै जानुपर्ने यात्रु,'यो बाटो बन्दछ कि खुलेको छ?'
कुनै काम आँट्नु पर्याे,'यो दिन कसैको बन्द–हड्ताल छ कि छैन?'
राजनीतिक चासो राख्ने व्यापारी,'यो सरकार कति दिन टिक्छ? मन्त्री को–को फेरिन्छन्?'
राजनीतिक कार्यकर्ता,'दलहरुबीच सहमति हुन्छ कि हुँदैन?'
अर्काे जिज्ञासु,'संविधान कहिले बन्छ? ठ्याक्कै भन्नुस् त।'
ग्याँस सकियो छिमेकी दिदी,'ए.. पत्रकार भाई, ग्याँस भोलि पाइन्छ कि पार्इंदैन?'
यी र यस्ता अनेकन् प्रश्न पत्रकारले दैनिक रुपमा घरदेखि बाटो, चोक र
सभा–समारोहमा झेलिरहनु पर्छ। यसको सोझो अर्थ के हो भने समाजका अनेकन्
प्रश्नको उत्तरका लागि पत्रकार हरदम तयार हुन्छन्। यो उनीहरुको पेशा हो।
यस्ता प्रश्नमा कतिपय पत्रकार जाने–बुझेर उत्तर दिन्छन्। कोही कहिलेकाहीं नजाने पनि उत्तर दिएर पन्छिने प्रयत्न गर्छन्।
समाजमा ऐनाको भूमिका खेल्ने पत्रकार आफैं भने कुहिरोको काग झैं रुमल्लिरहेका छन्। उनीहरु आफ्नो पेशालाई तुच्छ कोटीमा राख्छन्।
'बाहिरबाट हेर्दा देखिने ग्याल्मर पत्रकारिता पेशामा पक्कै छैन' अर्का
पत्रकारको स्टाटस यस्तो छ,'न समाजले गर्ने सम्मान बाँकी छ न व्यवसायीक
गुणस्तर कतै छ।'
यस्तै कारणले होला आजभोलि मुलधारका पत्रकारको सक्रियता कि साइड जबमा कि
विदेश पलायनमा देखिन थालेको छ। कतिपय पत्रकार अहिले आधा पत्रकारिता छोडेर
आधा समय स्कुल वा कलेज पढाउँदै छन्।
कान्तिपुर र नागरिकमा १२ वर्ष पत्रकारिता गरेपछि अहिले म यो पेशामा सक्रिय
छैन। मेरा समकालिन र पूर्वसहकर्मीमध्ये केहीले मैलेजस्तै यो पेशा छाडिसके।
केही छोड्ने क्रममा छैन। केही उनीहरुकै शब्दमा 'अर्ध–व्यवसायकि' रुपमा
पत्रकारितामा झुण्डिएका मात्र छन्।
कोही एनजिओ/आईएनजीओको प्रपोजल वा रिपोर्टिङमा व्यस्त हुँदैछन्। यस्तै कोही
सके अमेरिका, बेलायत वा अष्ट्रेलिया पुगेका छन्। ती डिभी चिठ्ठा, पिआर वा
अध्ययन भिसाको नाममा किन नहुन्। कतिपय ठूला मिडियाका पत्रकार अहिले पनि
डिभी र पिआरको प्रक्रियामै छन्।
त्यो पनि नभए, वर्षौको पत्रकारिता पेशालाई तिलाञ्जली दिएर मालिकसँग लिन
बाँकी हरहिसाब छाडेर दुबई, कतारलगायत खाडी मुलुक उड्ने पत्रकारको संख्या
पनि बढ्दै छ।
मुलधारको पत्रकारितामा आधादशक कटाइसकेका एक पत्रकारले हालै फेसबुक वालमा लेखे,'कोरिया भाषा कक्षा पूरा भयो, अबको गन्तव्य प्रष्ट छ।'
उनको यो स्टाटसको सन्देशले पनि प्रष्ट पार्छ,'नेपाली पत्रकारिताको युवा पुस्ताको गन्तव्य र यसका कारण के हुन्।'
प्रकाशित मिति:
शनिबार, फाल्गुण ९, २०७१
source-http://setopati.com/